गजल परिचय

Last Updated on

गजल : परिभाषा र बनावट 
नेपाली साहित्य भित्रका थुप्रै विधाहरु मध्ये गजल पनि प्रचलित विधाका रुप मा लिन सकिन्छ | जानकारहरु को अनुसार गजल को उत्पति अरब बाट भएको भन्ने पाइन्छ तर अहिले सम्म हेर्ने हो भने कसैले पनि किटान गरेर भन्ने सकेका छैनन् | कोहि कोहि व्यक्ति हरु बाट गजलको सुरुवात फान्स बाट भएको हो भन्ने पनि सुन्नमा आउछ | यधपी गजल अरबी भाषाको स्त्रीलिंगी शब्द हो र यसको अर्थ प्रेमी-प्रेमिका बीचको वार्तालाप भन्ने बुझिन्छ |( बराल, प्रतिनिधि नेपाली गजल ः २०५७, पृ. क )
गजललाई मुख्यतया दुई किसिममा वर्गीकरण गरिएको छ ।
१) विषयवस्तुको आधारमा
क) मुसलसल गजलः गजलका सवै शेरहरू एउटै विषयवस्तुमा आधारित भएर लेखिएको गजललाई मुसलसल गजल भनिन्छ |
जस्तै:
आफ्नै देश सम्झन्छन कोहि, केहि गर्ने अठोट लिएर फर्कन्छन
पसिना बगाउछन, साउको ऋण तिर्न नसक्ने नोट लिएर फर्कन्छन

मेरो प्रतिशोध विदेशीएका ति जोश जागरिला यूवाहरुलाई
जो सामर्थ सब उही सक्याउछन् अनि रोग लिएर फर्कन्छन

भुल्छन सारा दुख पलभरमै, मोज मस्ती को बाटो देख्छन
अनि आफ्नी अर्धांगिनी सामु बिजोग लिएर फर्कन्छन

देशको माटो भुलेर मरभुमिमा सब्जी फलाउन जानेहरु
र त खुसि उतै सकीन्छ,बन्द बाकसमा शोक लिएर फर्कन्छन

वेदना, चित्कार, यातना र तनावले पेट भर्छन विदेशमा
अनि माया ममता र वात्सल्यको भोक लिएर फर्कन्छन
माथिको गजलमा प्रस्तुत भएका सम्पूर्ण शेरहरु एउटै विषयवस्तुमा आधारित भएर लेखिएको छ, त्यसै कारणले उक्त गजललाई मुसलसल गजल भनिन्छ |

ख) गैरमुसलसल गजलः गजलका शेरहरू फरक-फरक विषयवस्तुमा आधारित भएर लेखिएको गजललाई गैरमुसलस गजल भनिन्छ |
जस्तै :
चोरलाई चोर्ने मात्रै दाउ यो सहरमा
तरकारीको सुन झैँ भाउ यो सहरमा

समय र परिस्थितिले बद्लियो जमाना
छुट्याउन गार्हो छोरी र माउ यो सहरमा

बुद्दिमानको दिमाग बेच्ने ठाउ नभयसी
सम्पतिवान मात्रै भए साहु यो सहरमा

मंगल,शुक्र, बृहस्पति कता गय कुन्नि
एक्लो राज गर्दैछ शनि राहु यो सहरमा

निर्दोषी मान्छे, लेक र बेंशी उकाली ओराली
खोजेर कहाँ पाइन्छ प्रिय गाउँ यो सहरमा
माथिको गजलमा भएका हरेक शेरहरुले फरक विषयवस्तुको उठान गरेको हुनाले उक्त गजललाई गैरमूसलसल गजल भनिन्छ |

२) रदिफको आधारमा
क) मुरद्दफ गजलः – यदि गजलमा रदिफ र काफिया दुवैको प्रयोग भएको छ भने उक्त गजललाई मुरद्दफ गजल भनिन्छ ।
उदाहरणक लागि हामी गजलको एक शेर लाई लिन सक्छौ |
चोरलाई चोर्ने मात्रै दाउ यो सहरमा
तरकारीको सुनझैँ भाउ यो सहरमा
माथिको शेरमा काफिया को रुपमा “दाउ” र “भाउ” को प्रयोग गरिएको छ भने रदिफ को रुप मा “यो सहरमा” प्रयोग भएको छ |

ख) गैरमुरद्दफ गजलः – यदि गजल लेख्दा रदिफको प्रयोग गरिएको हुदैन भने उक्त गजललाई गैर मुरद्दफ गजल भनिन्छ ।
उदाहरणक लागि हामी गजलको एक शेर लाई लिन सक्छौ |

उनि सँग पिरतीको गाठो कसाउनुछ
उन्कै लागि आकासको तारा खसाउनुछ
माथिको शेरमा काफीयाको रुप मा “कसाउनुछ” र “खसाउनुछ” को प्रयोग गरिएको छ तर रदिफको प्रयोग गरिएको छैन |

गजल लेख्दा ध्यान दिनु पर्ने कुरा हरु:

१. काफिया
काफिया गजल को महत्वपूर्ण पाटो हो | गजलको मतला र त्यस पछिका हरेक शेरका ‘मिसरा ए सानी’मा आउने शब्द वा -स्वर) शब्द समूह नै काफिया हुन । काफिया अरबी भाषाको पुलिङ्गी शब्द हो । यसको अर्थ ‘बावम्बार आउने’ भन्ने हुन्छ । त्यसरी काफियामा भएका शव्दहरू भने परिवर्तन गर्न सकिए पनि स्वरहरू भने अपरिवर्तित हुन्छन । काफियालाई गजलको मुख्य तत्वको रुपमा लिइन्छ । काफियाको अभावमा गजलको परिकल्पना समेत गर्न सकिदैन । त्यसैले यसलाई गजलको मुटु मानिएको हो । काफियालाई पूर्ण, आंशिक र एकाक्षरी गरेर मुख्यतया तीन भागमा विभाजन गरिए पनि पछिल्लो समयमा आएर पूर्ण, आंशिक, मिलित र एकाक्षरी गरी चार भागमा विभाजन गरिएको पनि पाइन्छ । धेरैले भने पूर्ण काफियालाई वढावा दिएका छन ।

क) पूर्ण काफिया: पूर्ण शब्द प्रयोग भएको काफिया हो | जस्तै – दाउ, भाउ, माउ, ठाउ आदि
ख) आंशिक काफिया: शब्दको केहि वर्ण वा अक्षर हरुमात्रै काफीयो रुपमा प्रयोग हुन्छन | जस्तै – सुवास, मिठास, प्रकाश, आभास आदि
ग) एकाक्षरि काफिया: शब्दको अन्तिम अक्षर मात्रै काफियाको रुपमा प्रयोग हुन्छ | जस्तै – जिन्दगीको, कुभलो, आचानो आदि शब्दहरुको अन्त्य मा प्रयोग भएका अक्षर को,लो,नो एकाक्षरि काफिया का उदाहरण हुन् |
घ) मिलित काफिया: यसमा स्वर र व्यञ्जनको ध्वनी समान भएका पद वा बाक्यको काफियाका रुपमा प्रयोग भएका हुन्छन । जस्तै – गर्न त, भन त ,जगत आदि
२. रदिफ
मतलाको दुवै पङ्क्तिका ‘मिसरा ए उला’ र ‘मिसरा ए सानी’ को अन्त्यमा दोहोरिएर आउने शव्द वा शव्द समूह नै रदिफ हुन ।रदिफ अरबी भाषाको स्त्रीलिङ्गी शब्द हो । यसको अर्थ ‘पछिपछि आउने’ भन्ने लाग्छ । रदिफ काफियाको पछि प्रयोग हुने हुनाले यो ‘पछिपछि’ आउने अर्थ उपयुक्त मानिएको हो ।रदिफको प्रयोग अनिवार्य रुपमै गर्नु पर्छ भन्ने छैन रदिफको प्रयोग नगरी गजलनै नबन्ने भने होइन तर रदिफको प्रयोगले गजलमा सुनमा सुगन्ध दिने काम गर्दछ |
रदिफ प्रयोग भएका गजलका उदाहरण हेरौ :
चोरलाई चोर्ने मात्रै दाउ यो सहरमा
तरकारीको सुनझैँ भाउ यो सहरमा (नबराज पौडेल;अध्याय, संयुक्त गजल सङ्ग्रह २०७३)

३. शेर
गजलका प्रत्येक जोडा पंक्ति हरु वा एकै लयमा रहेका दुई पंक्तिलाई शेर भनिन्छ | शेरको निर्माण प्रत्येक दुई हरफ बाट हुने गर्छ | शेर अरबी भाषाको शब्द हो र यसको अर्थ “केश” हुन्छ |
उदाहरण :
आफ्नो अमुल्य समय चुकायर प्रेम गर्ने मै हो
तिम्रो लागि आफुलाई दुखायर प्रेम गर्ने मै हो (कृष्ण दहाल, अध्याय, संयुक्त गजल सङ्ग्रह २०७३)

पारिजात झैँ बिना कसुर झर्दैछु पलपल
हिजोआज तिम्रै यादमा मर्दैछु पलपल (पवन कार्की ;अध्याय, संयुक्त गजल सङ्ग्रह २०७३)
४.मिसरा
गजलका प्रत्येक पंक्तिलाई मिसरा भनिन्छ | दुई मिसरा मिलेर नै एक शेर बनेको हो | गजलको पहिलो हरफलाई “मिसरा ए उला” र दोश्रोलाई “मिसरा ए सानि” भनिन्छ | गजलमा मिसरा ए उला ले उठाएको विषयलाई मिसरा ए सानी ले पुरा गर्छ र यो नै गजलको बिषेशता हो | गजलमा रहेका यी दुई पंक्ति बाट शेरको भाव प्रस्ट हुन्छ | उदाहरणका लागि के शेर हेरौ:
छनछ्नाउने हातका – मिसरा ए उला
चुराको सर्म बुझ – मिसरा ए सानी

आघि आउ छोडिन्न – मिसरा ए उला
सुराको कर्म बुझ – मिसरा ए सानी
५. मतला
गजलको प्रथम शेरलाई मतला भनिन्छ | यसको अर्थ सुरु वा आरम्भ भन्ने हुन्छ | मतलाको शाब्दिक अर्थ “उदय हुनु” वा “आरम्भ” भन्ने हो | त्यसैले यसलाई गजलको शिर पनि भनिएको हो |
६. मकता
अरबी भाषाको ‘मक्तूअ’बाट विकसित हुदै ‘मकता’ वा ‘मक्ता’ भएको हो । गजलको अन्तिम शेरलाई मकता भनिन्छ । यसलाई गजलको टुङ्ग्याउनी पनि भनिन्छ । केहीले ‘तखल्लुस’ प्रयोग भएको छ भने मात्र मकता हुने नत्र मिसरा नै मान्नु पर्ने मत पनि अघि सारेका छन । तर मतलालाई गजलको आरम्भ वा थालनी मानिसके पछि अव मकतालाई गजलको अन्त्य भाग मान्नु उपयुक्त देखिन्छ । चाहे त्यहा तखल्लुस प्रयोग गरिएको होस् या नहोस । किन भने तखल्लुसलाई अनिवार्य तत्व मानिएको छैन । तखल्लुस राख्ने वा नराख्ने त्यो लेखकमै भर पर्ने कुरो हो । तखल्लुस प्रयोग नभएको शेरलाई मकता नमाने मिसरा मात्रै मान्ने हो भने त्यो गजलको अन्त्य कहिल्यै हुने ? के तखल्लुस प्रयोग नभएको गजलको अन्त्य नै हुादैन त ? तसर्थ विना संकोच गजलको अन्तिम शेरलाई मकता भन्नु नै उपयुक्त हुन जान्छ । मकताका केही शेरहरू : –
सुरा सुन्दरी पन्छाएर मनकी रानी
मानेको हु तिमीलाई मैले हजारमा (नबराज पौडेल)

नदेखिने पवन कति दमदार हुन्छ बुझेकि छ्यौ
इमान जमान इज्जत आफ्नै औकात प्यारो छ  ( गजलकार : पवन कार्की )
७. तखल्लुस
गजलको अन्तिम शेरमा गजलकारको नाम वा उपनाम प्रयोग गरिने चलन छ | त्यहि उपनाम प्रयोग भएर आउने शब्दलाई तखल्लुस भनिन्छ | यो गजलमा अनिवार्य भने होइने गजलकारले स्वेच्छाले प्रयोग गर्ने न नगर्न सक्छन | तखल्लुस प्रयोग भएको शेर हेरौ :
नदेखिने “पवन” कति दमदार हुन्छ बुझेकि छ्यौ
इमान जमान इज्जत आफ्नै औकात प्यारो छ  (पवन कार्की )

माथि लेखिएका सन्दर्भ सामाग्रीहरु निम्न पुस्तक बाट तथा श्रोत बाट साभार गरिएको हो |
(१) बराल, कृष्णहरि – (२०६४) गजल सिद्धान्त र परम्परा : साझा प्रकाशन
(२) परिश्रमी,घनश्याम न्यौपाने (२०६४) गजल , सौन्दर्य र मिमांसा:  वुटवल सनसाइन आ. मा. वि.
(३)संयुक्त गजल संग्रह (२०७३),आध्याय

Leave a Reply

गजल परिचय

by Nabaraj Paudel time to read: <1 min
0